:

पोर्चुगलमा बुद्ध जयन्ती भव्यरूपमा मनाउन यस्तो छ तयारी

top-news

लिस्बन। शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतम बुद्धको २५६८ औँ जयन्ती पोर्चुगलमा आगामी जेठ १०(मे २३ तारिख) गते बिहीबार धुमधामका साथ मनाउने तयारी थालिएको छ।

पोर्चुगलस्थित अवैतनिक नेपाली महाबाणिज्य दूतावास आयोजक र गैरआवासीय नेपाली संघ, आदिवासी जनजाति महासंघ तथा नेप्लीज वुमेन एसोसिएसन सह-आयोजक रहेर सो कार्यक्रम गर्न लागिएको हो। 

मंगलबार अवैतनिक नेपाली महाबाणिज्य दूत मकरबहादुर हमालको संयोजकत्वमा बसेको बैठकले यसपटक विशेष कार्यक्रम गरी बुद्धजयन्ती मनाउने निर्णय गरेको छ।

बैठकले मुख्य आयोजकमा महाबाणिज्य दूतावास र यहाँस्थित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, आदिवासी जनजाति महासंघ र नेप्लिज वोमन एशोसिएसनलाई सह-आयोजक रहने गरि निर्णय गरेको छ।

यस्तै पोर्चुगलमा रहेका सबै संघ-संस्था, बैचारिक संघसंगठन सबै सदस्य रहने गरी मूल आयोजक समिति गठन भएको जनाइएको छ। 

बैठकले बुद्धजयन्तीको दिन पूजा व्यवस्थानका लागि जनजाति महासंघलाई जिम्मा दिएको छ भने साँस्कृतिक एवं भेषभूषा लगायतको संयोजन गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलले गर्नेछ।

यसैगरी प्रचारप्रसार संयोजनका लागि एनआरएनए आइसिसी सदस्य तथा संचारकर्मी समेत रहेका राजकुमार थापालाई तोकेको छ।

यस्तै कार्यक्रमलाई भव्य र सभ्य बनाउका लागि जनपरिचालनको जिम्मा सबै बैचारिक संगठनहरुलाई दिइएको छ। बैठकले फलफूल एवं पानी व्यवस्थापनको जिम्मा नेप्लिज वोमन एशोसिएशनलाई दिएको छ। 

विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले ‘त्रि–संयोग दिवस’ का नामले महत्वपूर्ण दिनका रूपमा पनि लिने गरेका छन्।

यसैले पनि सो दिन प्रासा दि कमर्सियलबाट र्‍याली सुरु भई रोसियोको भित्री सडक र रेष्टुरादोरेस हुँदै मार्टिममुनिजमा आएर कोणसभामा परिणत कार्यतालिका रहेको महाबाणिज्य दूतावासले जनाएको छ। 

विश्व जगतमा शान्तिका अग्रदूत र एसियाका ताराका रूपमा भगवान गौतम बुद्धलाई चिनिएको भन्दै महाबाणिज्यदूत मकरबहादुर हमालले हामीले बुद्ध नेपालमा जन्मिएको सत्यलाई विदेशीमाझ छर्लङ्ग पार्नुपर्नेमा जोड दिनुभयो।

‘बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिनुभएको छ। यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रूप धारण गरेको छ ।’ उहाँले भन्नुभयो, ‘यो नै नेपाल र हामी नेपालीको पहिचान हो।’ उहाँले कार्यक्रममा सहभागि भएर सहयोग गर्न सबै नेपाली समुदायमा आग्रह गर्नुभएको छ ।

यस्तै आदिवासी जनजाति महासंघका उपाध्यक्ष सोनम योञ्जन लामाले पनि गौतम बुद्धले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको बताउनुभयो । उता एनआरएनए पोर्चुगलका अध्यक्ष उमेश खड्काले पनि बुद्ध राष्ट्रिय विभूती भएकोले कार्यक्रम सफल बनाउन सबैको उत्तिकै भूमिका रहेको जोड दिए। 

बैठकमा सहभागीहरुले ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ भन्दै यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६८ औँ जयन्तीमा विश्व शान्तिको कामना गर्दै धुमधामका साथ मनाउनुपर्नेमा जोड दिएका थिए।

https://www.namunanepal.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *